काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आजदेखि विधेयकमाथि सैद्धान्तिक छ्लफल सुरु भएको हो ।
विधेयक संसदमा २१ फागुन २०८० मा दर्ता भएको थियो । संसदमा दर्ता भएको करिब छ महिनापछि समितिमा छलफलका लागि अगाडि बढेको हो ।
समिति सभापति रामहरि खतिवडाका अनुसार आज सैद्धान्तिक छलफल हुनेछ । यसपछि सरोकारवाला र संशोधनकर्ता सांसदहरूसँग छलफल हुने उनले बताए ।
विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । विधेयकमा १२४ समूहमा सांसदहरुले एक हजार ५८३ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए । आजदेखि प्रतिनिधि सभाको चालु कार्यकालमा दर्ता भएको विधेयकमाथि संसदीय समितिमा छलफल सुरु भएको हो ।