काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाइदै आएको छ ।
संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज बिहान साढे आठ बजे विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुँदैछन् ।
टुँडिखेलमा आयोजित समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाउने प्रचलन छ ।
त्यसैगरी, आजै राष्ट्रपति पौडेलले शीतल निवासमा पनि चियापान कार्यक्रम आयोजना गरेका छन् ।