काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको नीति, नियत र कार्यशैलीमाथि प्रश्न उठाउदै पूर्वउपाध्यक्ष भीम रावलले पत्रकार सम्मेलन मार्फत चुनौति दिएका छन् । बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका पूर्वउपाध्यक्ष रावलले ओलीको निरंकुश कार्यशैलीमाथि नै प्रश्न गर्दै खनिएका हुन् ।
राजनीतिक जीवनको उत्तरार्द्धमा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले तत्काल अभियान चलाएर केही समयपछि नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन् । पाँच दशक लामो सक्रिय राजनीतिमा रहेका रावलले पुराना दलहरूले जनताको आकांक्षा पूरा गर्न नसक्ने भन्दै ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति’ निर्माणको आवश्यकता औँल्याएका हुन् । पार्टी गठनपूर्व उनले देशव्यापी मातृभूमि जागरण अभियान चलाउने उद्घोष गरेका छन् ।
एमालेले निष्कासन गरेको एक सातापछि बुधबार पत्रकार सम्मेलनमार्फत कारबाहीका क्रममा लागेका आरोपको दर्जनौँ कडा प्रश्नमार्फत खण्डन र प्रतिवाद गर्दै रावलले नयाँ पार्टी गठनअगाडि अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । रावलले मूलतः प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको नीति, नियत र कार्यशैलीमाथि ६ दर्जनभन्दा धेरै प्रश्न उठाएका थिए ।