काठमाडौं । रोल्वालिङका विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङमा ग्याल्जे शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् । अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी काठमाडौं आइपुगेका शेर्पालाई नेपाल पर्वतारोहण संघ, नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसन, माउण्ट एभरेष्ट समिटर्स क्लब, इमाजिन नेपाल ट्रेक्स र पर्यटन व्यवसायीले भव्य स्वागत गरिएका हुन् ।
शुक्रबार काठमाडौ आइपुगेका पर्वतारोही शेर्पा विमानस्थलमा स्वागतपछि नेपाल पर्वतारोहण संघले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी भएका थिए । नेपाल पर्वतारोहण संघले उनलाई विमानस्थलबाट र्याली गर्दै नक्सालस्थित अरण्य बुटिक होटलमा स्वागत कार्यक्रममा सहभागि गराएका हुन् ।
उनलाई नक्सालस्थित अरण्य बुटिक होटलमा संस्कृति तथा पर्यटन राज्य मन्त्री अरुण कुमार चौधरीले खादा, माला तथा केक काटी सम्मान गरेका थिए । सो सम्मान कार्यक्रममा पूर्वसञ्चार मन्त्री पार्वत गुरुङ, पूर्व सांसद जिपछिरीङ शेर्पा, माउन्ट एभरेष्ट समिटर्स क्लव रोल्वालिङका अध्यक्ष दावाछिरी शेर्पा , नेपाल बौद्ध महासंघका अध्यक्ष नोर्बु थुन्डु शेर्पा(गेशे थुप्तेन जिम्बा) लगायत पर्यटन व्यवसायीहरुको उपस्थिति थियो ।
शेर्पाले हालै पुष १३ गते अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरेका थिए । उनले त्यस हिमालसँगै सेभेन समिट (सात महाद्वीपका शिखरहरु) सफल आरोहण गरी काठमाडौं फर्किएका हुन् ।
यसअघि शेर्पाले गत असोज १८ गते चीनमा रहेको शिशपाङमा हिमालको बिना अक्सिजन (पूरक अक्सिजन बिना) सफल आरोहण गरेका थिए । मिङमा पूरक अक्सिजन बिना नै विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने पहिलो नेपाली बन्न सफल व्यक्ति हुन् ।
दोलखाको उत्तरी गौरीशंकर–९, रोल्वालिङका स्थायी निवासी मिङमा आईएफएमजीए र यूआईएजीएम माउन्टेन गाइड समेत हुन । पर्यटन व्यवसायी समेत रहेका शेर्पा इमाजिन नेपाल ट्रेक्स कम्पनीका संचालक हुन ।
फोटो फिचर