काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाए नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध आन्दोलनमा उत्रने चेतवानी दिएका छन् ।
केन्द्रीय सदस्य रञ्जित तामाङले कार्यकारी निर्देशक घिसिङलाई सरकारले पदबाट निकालेको खण्डमा आफूहरू तत्काल सरकारविरुद्ध सडक आन्दोलनमा निस्कनुपर्ने बताएका हुन् ।
मंगलबार बैठकमा आफ्ना कुरा राख्ने क्रममा तामाङले विद्युत् प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले हटाएर तत्काल सडक संघर्षमा जानुपर्ने बताएका हुन् । “सरकारले हटाउने नियतका साथ घिसिङलाई बारम्बार स्पष्टिकरण सोधिरहेको छ, काम गर्ने मान्छेलाई सरकारले हटायो भने हामी त्यसविरुद्ध सडकमा उत्रिनुपर्छ” उनले भने ।
सरकारले सोमबार मात्रै घिसिङलाई ९ बुँदे स्पष्टीकरण सोधेको थियो । घिसिङलाई ‘पदबाट किन नहटाउने’ भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङसँग स्पष्टीकरण सोधेको थियो ।