दोलखा । लामाबगरमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । बिगु गाउँपालिका वडा नम्वर २ ओराङ स्थायी घर भएका अन्दाजी ५५ वर्षिय शिक्षक डोरबहादुर तमाङ विहीबार बेलुका मृत फेला परेका हुन् ।
तामाङ बिगु गाउँपालिका १, ठाडी देउलाङ्ग आधारभूत विद्यालयका शिक्षक हुन् । शिक्षक तामाङ ओराङबाट दैनिक घोडा चढेर विद्यालय आउजाउ गर्ने गरेका थिए ।
विहीबार पनि घोडा चढेर विद्यालय पुगि घर फर्किएका शिक्षक तामाङ विद्यालयबाट करिब ५०० मिटर टाढा रहेको ताम्चेत भन्ने स्थानमा मृत फेला परेका हुन् । उनले चढ्ने घोडा भने जीवितै फेला परेको छ ।
साँझ अवेरसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शिक्षक तमाङ मृत अवस्थामा फेला परेका हुन् । उनी प्रेसरको रोगी रहेको र घोडा चढेकै अवस्थामा हृदयघात भएर लडी मृत्यु भएको हुन सक्ने परिवारजनले बताएका छन् ।