काठमाडौं । आज नेपालीहरुले मकर सङ्क्रान्ति अर्थात् माघे सङ्क्रान्ति मनाउँदै छ । नेपालमा मनाइने धार्मिक एवं सांस्कृतिक चाडपर्वहरूमध्ये मकर सङ्क्रान्तिको विशेष महत्त्व रहेको छ ।
विशेष गरी यो नेपालको तराई क्षेत्रका जिल्लाहरूमा छरिएर रहेका थारु समुदायहरूले मनाउने सबैभन्दा ठूलो चाडको रूपमा पनि मानिएको छ ।
माघ १ गतेदेखि सूर्य मकर राशिमा प्रवेश गर्ने हुँदा माघे सङ्क्रान्तिलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । सङ्क्रान्तिको अर्थ सूर्य एउटा राशिबाट अर्को राशिमा प्रवेश गर्नु हो । यस दिनदेखि दिनभन्दा रात छोटो हुँदै जान्छ ।
यस दिन तिलको लड्डु, खिचडी, घिउ, चाकु, तरुल, पालुङ्गो खाएर सङ्क्रान्ति मनाउने प्रचलन रहेको छ । यस्ता परिकारहरू खानाले त्रिदोष नाश हुन्छ भन्ने धर्मशास्त्रमा लेखिएको छ ।
त्यसैगरी यस दिन शरीरमा तेलले मालिस गर्नाले शरीरको सम्पूर्ण दूषित पदार्थ बाहिर निस्किन्छ भन्ने विश्वास छ । यस दिन तेलले मालिस गर्नाले शरीरका नाडी तथा स्नायुमण्डल र हड्डीहरू सुदृढ र स्वस्थ रहन्छन् भन्ने पनि मान्यता छ ।
यस पर्वमा देवघाट, त्रिवेणी, त्रिशूली, कालीगण्डकी, वागमतीका साथै अन्य तीर्थ तथा नदीहरूमा भक्तजनहरूको भीड लाग्दछ । त्यसैले तराईवासीहरू यसलाई नहान अर्थात् नुहाउने पर्वको रूपमा पनि मान्दछन् ।
यस पर्वमा तिल दान गर्नाले सुन दान सरह पुण्य प्राप्त हुने धर्मशास्त्रमा उल्लेख गरिएको छ ।