काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्का कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात भएको हो ।
मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत पुस २६ गते शुक्रबार हातपात भएको खुलेको छ । यो घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार खड्काले आफ्नो कुरा राख्ने क्रममा सुरक्षाको विषय उठाएका थिए । मन्त्री खड्काले बैठकमा भनेका थिए, ुगत शुक्रबार एक व्यक्तिले ममाथि मन्त्रालयमा नै दुर्व्यवहार गरेको थियो ।
त्यसपछि गृहमन्त्री रमेश लेखकले आफूलाई उक्त कुराको जानकारी किन नगराएको ? भनी खडकालाई प्रश्न गरेका थिए । लेखकले सोधेपछि मन्त्री खड्काले ‘घटना सामान्य भएकाले खबर नगरेको’ भन्ने जवाफ फर्काएका थिए । गृहमन्त्री लेखकले भने आफूमाथि हातपात भएको घटनाको बारेमा मन्त्रीले नै झन्डै हप्तादिनसम्म किन लुकाएको भनी प्रश्न गरेको बैठकमा सहभागी अर्का मन्त्रीले बताए ।