काठमाडौं । किसानले खेतबारीमा अन्न बाली खाने वा नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन् ।
वन तथा वातारण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को अनुसूची संशोधन गर्दै बालीनाली खाने रातो बाँदर र बँदेललाई मार्न पाउने व्यवस्था गरेको हो ।
माघ १० गते राजपत्रमा प्रकाशित सूचनाअनुसार अहिलेका लागि एक वर्षसम्म मात्रै मार्न पाउने गरी बाटो खोलिएको छ ।
यसअघिको नियमावलीमा ती जंगली जनावरलाई मार्न नपाउने कानुनी व्यवस्था थियो । देशैभर किसानहरूको गुनासो आएपछि सरकारले नियमावली संशोधन गरेर आतंकमा परेको बँदल र बाँदरलाई एक्लै वा सामूहिक रुपमा पक्राउ वा मार्न पाउने गरी कानुनी बाटो खोलेको हो ।
पक्रिएका बँदेल वा बाँदरलाई सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहतको नजिकको कार्यालयमा बुझाउनु पर्ने र त्यसको सूचना सम्बन्धित वडा कार्यालयमा दिनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ ।