किशोर गुरुङ,
कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई सांस्कृतिक, सामाजिक र भाषिक एकता सुदृढ गर्न स्थापित अन्तर्राष्ट्रिय तमू(गुरुङ) परिषद (ITC)ले आफ्नो ७औं स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सो अवसरमा पहिलो भर्चुअल बैठकमार्फत सचिवालय सदस्यहरूको चयन गर्दै काठमाडौंमा कार्यलय स्थापना गरिएको छ।
परिषद्का अध्यक्ष आनन्द गुरुङको अध्यक्षतामा सम्पन्न सो बैठकमा प्रमुख अतिथि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरुङ रहनुभएको थियो। कार्यक्रममा संविधानसभाका सदस्य प्रा. डा. गणेशमान गुरुङ, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङ, तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिका अध्यक्ष धनमान गुरुङ लगायत देश तथा विदेशका विभिन्न तमू संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।
बैठक तमू ह्युल छोंज धीँका केन्द्रीय महासचिव अधिवक्ता राजु गुरुङले सञ्चालन गर्नुभएको थियो। परिषद् स्थापना दिवसको अवसरमा आयोजित यस ऐतिहासिक भर्चुअल बैठकमा अमेरिका, बेलायत, हङकङ, इजरायल, सिंगापुर, जापान लगायतका मुलुकहरूबाट प्रतिनिधिहरू अनलाईन जुम बैठकमा सहभागी भएका थिए।

त्यसैगरी बैठकले परिषद्को सचिवालय सदस्यहरूलाई निर्विरोध निर्वाचित गर्दै नयाँ कार्यदल गठन गरेको छ। परिषदका अध्यक्ष आनन्द गुरुङको नेतृत्वमा उपाध्यक्ष प्रदीप गुरुङ(अमेरिका), महासचिव अधिवक्ता राजु गुरुङ (नेपाल), सचिव रुपा गुरुङ (दक्षिण कोरिया), कोषाध्यक्ष इन्स्पेक्टर गंगाबहादुर गुरुङ (नेपाल) सदस्यहरू हिउपति गुरुङ (अष्ट्रेलिया), इन्जिनियर ओमबहादुर गुरुङ (अमेरिका), खुशी क्ल्हे गुरुङ (इजरायल) र चन्द्रप्रसाद गुरुङ (कतार) रहेका छन् ।
त्यस्तै परिषदमा बेल्जियम, हङकङ र भारतबाट प्रतिनिधि चयन हुन बाँकी रहेको र आगामी बैठकमा बाँकी सदस्यहरूलाई समावेश गरी सचिवालयलाई पूर्णता दिइने महासचिव अधिवक्त राजु गुरुङले बताउनुभयो ।

कार्यलय स्थापना र परिषद्को उद्देश्य
परिषद्ले काठमाडौंमा कार्यलय स्थापना गर्दै संस्थागत सुदृढता र समन्वय कार्यलाई गति दिने जनाएको छ। विश्वका विभिन्न देशमा क्रियाशील तमू संघसंस्था र समुदायबीचको सांस्कृतिक, भाषिक, र सामाजिक सम्बन्धलाई मजबुत बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा तमू पहिचान प्रवर्द्धन गर्नु परिषद्को दीर्घकालीन उद्देश्य रहेको जनाएको छ ।
अध्यक्ष आनन्द गुरुङका अनुसार, “विश्वभरका तमू समुदायबीच एकताको सूत्र बाँध्दै सांस्कृतिक सम्पदा संरक्षण, भाषा प्रवर्द्धन र नयाँ पुस्तामा पहिचान चेतना जगाउने अभियानलाई परिषद्ले निरन्तरता दिनेछ।”

परिषदका आगामी कार्यक्रम
बैठकले आगामी वर्षहरूमा विश्व तमू सम्मेलन आयोजना गर्ने, सदस्य राष्ट्रहरूमा शाखा विस्तार गर्ने, र युवापुस्तामार्फत तमू संस्कृति र इतिहासमा आधारित शैक्षिक तथा अनुसन्धानात्मक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।
साथै, प्रवासमा रहेका तमू समुदायका सामाजिक समस्या समाधान, आपसी सहयोग र संवाद सञ्जाल सुदृढीकरणमा परिषद्ले अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी सात वर्षे यात्रामा प्रवेश गरेको अन्तर्राष्ट्रिय तमू परिषद्को यो भर्चुअल बैठकले संस्था औपचारिक र संगठित रूप लिन थालेको बताएको छ। काठमाडौंमा सचिवालय कार्यलय स्थापनासँगै तमू (गुरुङ) समुदायको अन्तर्राष्ट्रिय एकता र पहिचान सुदृढीकरणमा नयाँ युगको सुरुवात भएको परिषद्का पदाधिकारीहरूले बताएका छन्। भर्चुल जुम बैठक कात्तिक २ गते आइतबार नेपाली समय अनुसार बेलुका ६ बजेदेखि ८ बजेसम्म केन्द्रिय कार्यलयं काठमाडौमा भएको थियो।
फोटोफिचर




