काठमाडौं । नेपाल बौद्ध महासंघले वार्षिक कार्ययोजना प्रस्तुत गरेको छ । क्याब्जे राब्ज्यम रिन्पोछेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरि महासंघले वार्षिक कार्ययोजना प्रस्तुत गरिएको हो ।
कार्यक्रममा महासंघका सल्लाहकार, चारै परम्पराका अध्यक्ष तथा प्रतिनिधिहरू र विभिन्न क्षेत्रका समाजसेवीहरूको सहभागिता थियो । कार्यक्रममा आगामी कार्ययोजनाको बारेमा सल्लाह–सुझाव संकलन गरिएको थियोे ।
कार्यक्रममा अध्यक्ष नुर्बु थुन्डु शेर्पा (गेशे थुप्तेन जिन्पा) द्वारा महासंघको स्थापनाकालदेखि हालसम्मका कार्य प्रगतिको विवरण प्रस्तुत गर्नु भएको थियोे । अध्यक्षले वर्तमान सञ्चालन भइरहेको बौद्ध शिक्षा र संरक्षणका कार्यक्रमहरू, दीर्घकालीन दायित्वहरू, र सामुदायिक नेतृत्वको महत्त्व विषय समेत उजागर गर्नुभयो ।
उहाँले महासंघको भावी कार्ययोजनामा बौद्ध शिक्षाको विकास, जनशक्ति उत्पादन, र अन्तरधार्मिक सहिष्णुता जस्ता प्रमुख बिषयहरूमा कार्य गरिने जानकारी दिनुभयो । नेपाल सरकारले पराम्परागत बौद्ध शिक्षालाई सामुदायिक विद्यालयस्तरमा मापदण्ड कार्यविधि बनाई कक्षा १ देखि १२ सम्म पाठ्यक्रम र पाठ्यापुस्तक तयार गरी लागु गर्ने हुनाले सो जानकारी गराउन समेत कार्यक्रम गरिएको अध्यक्ष गेशेले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि क्याब्जे शेचेन राब्ज्यम रिन्पोछेले महासंघको स्थापना र कार्यहरूको प्रशंसा गर्दै भन्नुभयो, “नेपालका हिमाली समुदायहरूको आ–आफ्नो छुट्टै पहिचान रहेको छ र यिनीहरू विश्वभरि प्रसिद्ध छन् । यस समुदायको भाषा, धर्म र संस्कृति अत्यन्त महत्त्वपूर्ण छ ।” रिन्पोछेले सम्पूर्ण हिमाली समुदायहरुले बालबालिकाहरुलाई विद्यालय स्तरबाटै बौद्ध शिक्षा र परम्पराहरू सिकाउनुमा एकताबद्ध हुनुपर्ने आशीर्वचन दिनुभयो । साथै, उहाँले संस्थालाई आर्थिक सहयोग पनि गर्नुभयो ।
कार्यक्रममा उपस्थितहरुले महासंघको प्रगति र भविष्यका योजनामा आवश्यक सहयोगका बारेमा मन्तव्य राख्नुका साथै आर्थिक सहयोग गर्नुभएको थियो । उपस्थितिहरुले कार्यक्रममा आर्थिक सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
अध्यक्षले नेपाल बौद्ध महासंघको कार्यलाई थप मजबुत बनाउने र बौद्ध शिक्षाको परम्परालाई ग्रामिण क्षेत्रका जनसमुदायसम्म पुर्याउनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नु हुदै उपस्थित सबैलाई धन्यवाद दिर्नु भयो ।
फोटो फिचर