काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण आइरहेको छ। यस परिवर्तनसँगै मानिसहरूमा मानसिक, शारीरिक र भावनात्मक दबाब बढ्दो क्रममा छ।
अध्ययन, रोजगारी, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र प्रतिस्पर्धाका कारण धेरै व्यक्तिहरू मानसिक असन्तुलन, तनाव, आत्मविश्वासको कमी र दिशाहीनताको सामना गरिरहेका छन्। यस्तै अवस्थामा मानिसलाई पुनः सशक्त, ऊर्जावान् र जीवनप्रति सकारात्मक बनाउने प्रभावकारी माध्यम हो मनोपरामर्श।
मनोपरामर्शले व्यक्तिको मानसिक अवस्था बुझेर समाधानतर्फ मार्गदर्शन गर्छ। यसले व्यक्तिलाई आत्मपहिचान गर्न, समस्या समाधानको क्षमता विकास गर्न, आत्मविश्वास बढाउन र सकारात्मक सोच निर्माण गर्न मद्दत गर्छ। बौद्धिक, शारीरिक र मानसिक रूपमा सन्तुलित व्यक्ति मात्र तन्दुरुस्त र सफल जीवन बाँच्न सक्षम हुन्छन्। त्यसैले जीवनमा मनोपरामर्शलाई आजको समयमा अत्यावश्यक मानिन्छ।
यही सन्देशसहित गौरीशंकर उद्यमशीलता युवा समूहले सोमबार “मनोपरामर्श, युवा उद्यमशीलता तथा सकारात्मक सोच” विषयमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्देश्य युवाहरूलाई मानसिक रूपमा सबल बनाउँदै उनीहरूलाई उद्यमशील र सकारात्मक सोचसहितको जीवनशैलीतर्फ अग्रसर गराउनु रहेको थियो।
कार्यक्रममा मनोपरामर्शविद् विकास देव योञ्जनले “मनोपरामर्शको आवश्यकता र महत्व” विषयमा प्रशिक्षण दिँदै मानसिक स्वास्थ्य र जीवन कौशल विकासका उपायहरू प्रस्तुत गर्नुभयो। उहाँका अनुसार, “मनोपरामर्शले व्यक्ति भित्र लुकेको सम्भावना उजागर गर्छ र तनाव, निराशा तथा असमंजसबाट बाहिर ल्याएर सही दिशामा अघि बढ्न प्रेरित गर्छ।”
त्यस्तै, युवा उद्यमशीलता विषयमा सफल उद्यमी तथा व्यवसायी डिल्लीध्वज बराइलीले युवाहरूलाई रोजगारी खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने क्षमता विकासमा जोड दिनुभयो। उहाँले उद्यमशीलतालाई आर्थिक स्वतन्त्रताको मात्र होइन, सामाजिक परिवर्तनको पनि माध्यम भएको बताउँदै युवालाई आफ्नै सीप र विचारलाई व्यवसायमा रूपान्तरण गर्न प्रेरित गर्नुभयो।
यसैगरी, युवामा सकारात्मक सोच विषयमा धर्मगुरु खेम्पो पेमछिरी शेर्पाले युवाहरूलाई मानसिक शान्ति, प्रेम र सहानुभूतिपूर्ण दृष्टिकोणका साथ जीवन हेर्न सिकाउनुभयो। उहाँका अनुसार, “सकारात्मक सोचले मात्र व्यक्ति कठिनाइलाई अवसरमा रूपान्तरण गर्न सक्छ।”
कार्यक्रममा सहभागी युवाहरूले मनोपरामर्शले आफूभित्रको डर, असहजता र मानसिक दबाब हटाउन मद्दत गरेको अनुभव साझा गर्दै यस्ता प्रशिक्षणले जीवनमा नयाँ दिशा दिन सक्ने प्रतिक्रिया जनाएका थिए।
समग्रमा, मनोपरामर्शले व्यक्तिको मानसिक स्वास्थ्य सुदृढ, आत्मविश्वास वृद्धि, जीवनप्रति सकारात्मक दृष्टिकोण र उद्यमशील सोच विकासमा महत्वपूर्ण भूमिका खेल्छ। यसरी यस्ता कार्यक्रमहरूले युवाहरूलाई सशक्त, सक्षम र सृजनशील नागरिकका रूपमा अघि बढाउन मार्ग प्रशस्त गर्छन्।