काठमाडौं — नेपाल सरकार अन्तर्गत आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा नेपालका आदिवासी जनजातिहरुको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख वक्ता बेलायतको अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक तथा मानवशास्त्री प्रो. डा. डेभिड गेलनरले नेपालमा बिताएका ५० वर्षभन्दा बढीको अध्ययन तथा अनुसन्धान अनुभव प्रस्तुत गरे। उनले नेपालका आदिवासी जनजातिहरुको सामाजिक संरचना, सांस्कृतिक विविधता, ऐतिहासिक पृष्ठभूमि तथा समसामयिक अवस्था विषयमा विस्तृत विचार व्यक्त गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय दृष्टिकोणबाट विश्लेषण गरे।
कार्यक्रममा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा मगर, थारु आयोगका कार्यकारी अध्यक्ष सुबोध सिंह थारु विशेष आमन्त्रित अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले अध्यक्षता गर्नुभएको थियो।
सहभागीहरूसँग अन्तरक्रियात्मक सत्रमा नेपालका विभिन्न क्षेत्रका आदिवासी जनजाति अभियन्ताहरूले आफ्ना अनुभव, चुनौती र सुझावहरू साझा गरे।कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुन मगरले गर्नुभएको थियो।
कार्यक्रमले नेपालका आदिवासी जनजातिहरुको हक, अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका लागि थप अनुसन्धान र सहकार्य आवश्यक रहेको सुझाव दिएको छ।