मोरङ । मिस ग्रान्ड नेपाल २०२५ बाट “मिस वल्ड टुरिजम २०२५” मा नेपाललाई इन्डोनेसियामा प्रतिनिधित्व गर्ने अवसर पाएकी गरिमा गुरुङलाई गृह जिल्लामा विशेष सम्मान गरिएको छ।
उनलाई तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद नगरसमिति बेलबारीको आयोजनामा साउन २० गते मंगलबार सम्मान गरिएको हो ।
बेलबारी–१ स्थित नेपाल तमू बुद्धिस्ट गुम्बामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा, नातेदार, शुभेच्छुक तथा गुरुङ समुदायका अग्रजहरूको उत्साहपूर्ण उपस्थिति थियो।
गरिमाप्रति गौरव र आशा
कार्यक्रममा सहभागीहरूले गरिमाको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो सफलताले गुरुङ समुदाय मात्र नभई सम्पूर्ण नेपाललाई विश्वमञ्चमा पहिचान दिलाउने अपेक्षा व्यक्त गरे। उनका सफलताप्रति बधाई दिँदै सबैले उनको आगामी प्रतिस्पर्धामा थप ऊर्जा, आत्मविश्वास र सफलताको शुभकामना व्यक्त गरे।
गरिमाले कार्यक्रममा सम्बोधन गर्दै भनिन्–”मलाई यहाँसम्म ल्याउन पक्कै पनि तपाईँहरूको माया र समर्थनको ठूलो हात छ। अबको यात्रामा पनि तपाईंहरूको साथ र आशीर्वादको अपेक्षा गर्छु।”
भावुक क्षण र सम्मान
कार्यक्रममा गरिमालाई सम्मानपत्र, मायाको चिनो र फूलमालाले स्वागत गरिएको थियो। आफ्नै गाउँठाउँका बुबाआमा, परिवारजन र साथीहरूले मंचमा उनको सफलताबारे अनुभव र अभिमान पोख्दा कार्यक्रम स्थल भावुक भएको थियो।
स्थानीय बासिन्दाले भने–”गरिमाले आफ्नो मिहिनेत र प्रतिभाले हाम्रो गाउँ, जिल्ला र देशको नाम उज्यालो पारेकी छिन्। उनको सफलताले हाम्रो नयाँ पुस्तालाई पनि प्रेरित गरेको छ।”
इन्डोनेसियाको यात्रा र अपेक्षा
गरिमाले अब इन्डोनेसियामा हुने “मिस वल्ड टुरिजम २०२५” मा नेपालको प्रतिनिधित्व गर्दैछिन्। यो प्रतिस्पर्धा नेपालका लागि अन्तर्राष्ट्रिय पर्यटन प्रचार र सांस्कृतिक पहिचान फैलाउने अवसर हुने अपेक्षा राखिएको छ ।
आयोजक संस्थाका अध्यक्षले भने– “गरिमाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन र सौन्दर्य क्षेत्रको मानचित्रमा उज्यालो बनाउने विश्वास गरेका छौँ। यस यात्रामा हाम्रो परिषदले आवश्यक समर्थन र सहयोग गर्नेछ।”
त्यसैगरी, गरिमाको गृह जिल्लामा भएको यो सम्मान कार्यक्रम केवल उनको व्यक्तिगत उपलब्धिको कदर मात्र नभई समुदाय, संस्कृतिको पहिचान र राष्ट्रिय गौरवको प्रतीकका रूपमा पनि स्थापित भएको छ । अब उनी इन्डोनेसियाबाट नेपालको नाम उच्च राख्ने आशा गरिएको छ।
गरिमाले “बाली, इन्डोनेशिया” मा अगस्त २५ – २९ गते हुन गई रहेको “मिस वर्ल्ड टुरिजम २०२५” मा नेपाललाई प्रतिनिधित्व गर्ने छिन्।