दोलखा । भीमेश्वर नगरपालिका–६, रमितेमा मंगलबार राति मोटरसाइकल दुर्घटनामा परी दुई युवाको ज्यान गएको छ ।
मंगलबार साँझ करिब ९ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा भीमेश्वर नगरपालिका–५ का २२ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २४ वर्षीय सुजन दाहालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउने बस्नेत गौरीशङ्कर बहुमुखी क्याम्पस चरीकोटका स्ववियु सभापति हुन भने दाहाल चरीकोटस्थित एक होटलका सवारी चालकका रूपमा कार्यरत थिए । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि चरिकोट अस्पताल लगिएको थियो । तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए ।
बा ५३ प ८८९९ । बा.प्र. ०२–०३४ प ३२४२ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । अर्का मोटरसाइकल चालक बैत्येश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् ।
खड्कालाई नियन्त्रणमा लिइ दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।